
कैलालीको घोडाघोडी नगरपालिका–१ सुखड स्थित एक होटलमा व्यवसायीहरूबीच भएको झडप प्रकरणमा प्रहरीले मिडियालाई नै गलत सूचना दिएको पाइएको छ। आइतबार राति सुखडको दहित रेस्टुरेन्टमा भएको घटनापछि जिल्ला प्रहरी कार्यालय कैलालीले “पाँचै जना नियन्त्रणमा रहेको” जानकारी दिएको भए पनि वास्तविकता फरक रहेको खुलेको हो। घटनापछि पाँच जनाविरुद्ध मुद्दा दर्ता गरिएको थियो। सोमबार जिल्ला प्रहरी कार्यालय कैलालीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाले पाँचै जना प्रहरी नियन्त्रणमा रहेको बताएका थिए। तर, मुद्दा दर्ता गरिएकामध्ये तीन जना मात्रै प्रहरी नियन्त्रणमा रहेको खुलेको छ भने बाँकी दुई जनालाई प्रहरीले अझै पक्राउ गर्न सकेको छैन।
प्रहरी नियन्त्रणमा बर्दगोरिया गाउँपालिका–१ का ४५ वर्षीय शिवराज कुँवर, बर्दगोरिया–५ का २६ वर्षीय ओम थापा र बर्दगोरिया–२ का २६ वर्षीय श्रीराम भट्ट रहेका छन्। पक्राउ नै नभएका व्यक्तिलाई समेत “नियन्त्रणमा रहेको” भन्दै मिडियामा सूचना दिइएको घटनाले प्रहरीको सूचना प्रणाली र पारदर्शितामाथि प्रश्न उठाएको छ। यस्तै, झडपमा प्रत्यक्ष संलग्न नभएका होटल सञ्चालकलाई समेत प्रहरीले बिना कसुर एक रात नियन्त्रणमा राखेको आरोप लागेको छ। घटनापछि हालै इलाका प्रहरी कार्यालय सुखड मा सरुवा भएर आएका प्रहरी नायब उपरीक्षक प्रसन्नराज चौधरीको भूमिकामाथि समेत प्रश्न उठ्न थालेको छ। स्रोतका अनुसार झडपमा संलग्न पक्षहरू “यो सामान्य खानपिनको विषय हो, हामी आपसमा मिल्छौं” भन्दै विवाद समाधानतर्फ जान खोज्दा समेत प्रहरीले जबरजस्ती मुद्दा दर्ता गराएको आरोप छ।
“तिमीहरू मुद्दा दर्ता गर, होइन भने सबैलाई थुन्छु,” भन्दै डीएसपी चौधरीले दबाब सिर्जना गरेको स्रोतको दाबी छ। त्यसपछि मात्रै मुद्दा दर्ता प्रक्रिया अघि बढाइएको बताइएको छ। मिडियालाई गलत सूचना दिएको र झडपमा संलग्न नरहेका होटल सञ्चालकलाई थुनिएको विषयमा बुझ्न इलाका प्रहरी कार्यालय सुखडका प्रमुख डीएसपी प्रसन्नराज चौधरीलाई पटकपटक सम्पर्क गर्दा उनको फोन उठेन। यता जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता तथा सूचना अधिकारी योगेन्द्र तिमिल्सिनाले भने “आफूलाई आएको रिपोर्टका आधारमा जानकारी दिएको” प्रतिक्रिया दिएका छन्।