०९ जेठ, सुखड । कैलालीको घोडाघोडी नगरपालिका–१ सुखडमा तीन दिने रूपान्तरण कक्षाका साथी शिक्षकलाई पुनर्ताजगी तालिम सम्पन्न भएको छ । बाल कल्याण सङ्घ टिकापुर र वर्ल्ड भिजन इन्टरनेसनल नेपालको संयुक्त साझेदारीमा सञ्चालित बाल समृद्धि तथा एकीकृत विकास कार्यक्रम अन्तर्गत तालिम आयोजना गरिएको हो । तालिममा टिकापुर, भजनी, घोडाघोडी, गौरीगंगा नगरपालिका तथा कैलारी गाउँपालिकाका ३२ जना साथी शिक्षकहरूको सहभागिता रहेको थियो ।
स्थानीय तहसँगको समन्वयमा बाल कल्याण सङ्घले साथी शिक्षक छनोट गरी विभिन्न समुदायमा रूपान्तरण कक्षाहरू सञ्चालन गर्दै आएको जनाएको छ । तालिम प्राप्त साथी शिक्षकहरूले समुदायका किशोर किशोरीलाई यौन तथा प्रजनन स्वास्थ्य अधिकार, जीवन उपयोगी सीप, नागरिक सहभागिता तथा आत्मरक्षा सम्बन्धी कक्षा सञ्चालन गर्नेछन् । चार महिनादेखि सञ्चालन हुँदै आएका रूपान्तरण कक्षाका अनुभव, चुनौती तथा समस्याका समाधानका उपायबारे सहभागीहरूले प्रस्तुतीकरण गरेका थिए । तालिममा सिकाइ आदान–प्रदान, सफलताका कथाहरू सङ्कलन, खर्च तथा बचत, लैङ्गिकतामा आधारित हिंसा, नागरिक सहभागिता तथा यौन तथा प्रजनन स्वास्थ्य लगायतका विषयमा छलफल गरिएको थियो ।
साथै आगामी कार्य योजना निर्माणबारे समेत अन्तरक्रिया गरिएको आयोजकले जनाएको छ । त्यसै गरी, किशोर किशोरी लक्षित विषयहरू जस्तै यौन तथा प्रजनन स्वास्थ्य, महिनावारी तथा सरसफाइ व्यवस्थापन, हिंसा र हिंसाका प्रकार, साइबर अपराध, बालविवाह, बालविवाहका कारण र असर, हिंसा भएमा न्यायका लागि पुग्न सकिने निकाय, यौनजन्य हिंसा तथा त्यसबाट बच्ने उपाय, कानुनी तथा स्वास्थ्य उपचार सम्बन्धी जानकारी प्रदान गरिएको थियो । आयोजकका अनुसार किशोरावस्थामा हुने शारीरिक, मानसिक, बौद्धिक तथा सामाजिक परिवर्तनबारे पर्याप्त जानकारी र अभिभावकको सहयोग अभाव हुँदा किशोर किशोरी विभिन्न जोखिमपूर्ण अवस्थाको सामना गर्न बाध्य भइरहेका छन् । समाजमा विद्यमान गलत धारणा, परम्परा तथा सोचाइले समेत उनीहरूको समग्र विकासमा नकारात्मक असर पारिरहेको बताइएको छ ।
जेठ ७ गत देखि ९ गतेसम्म सञ्चालन भएको तालिमको उद्देश्यबारे परियोजनाका संरक्षण अधिकृत इन्द्र जोशीले जानकारी गराएका थिए । रूपान्तरण कक्षाको आवश्यकता, महत्त्व तथा कक्षा सञ्चालनबाट किशोर किशोरी, बालबालिका र समुदायमा ल्याउन सकिने सकारात्मक परिवर्तन बारे वर्ल्ड भिजन इन्टरनेसनल नेपाल कैलाली जिल्ला संयोजक मङ्गल बहादुर शाहले जानकारी दिएका थिए । तीन दिनसम्म सञ्चालन भएको तालिमको अनुगमन बाल कल्याण सङ्घ टिकापुरका कोषाध्यक्ष धनराज शाहीले गरेका थिए । तालिममा सहभागी साथी शिक्षकलाई एस.ए.एम मल्ट्रिपर्पोज प्रा.ली. धनगढीका प्रशिक्षक मन्दिप सुरीले सहजीकरण गरेका थिए भने कार्यक्रम सञ्चालन बाल कल्याण सङ्घ टिकापुरकी मनोपरामर्शकर्ता विष्णा चौधरीले गरेकी थिइन् ।
