
कालुराम चौधरी
सुखड, १८ -जेष्ठ, २०८३
भजनी नगरपालिका–४ स्थित कालिका आधारभूत विद्यालयमा स्वच्छ तथा गुणस्तरीय खानेपानी उपलब्ध गराउने उद्देश्यले वायोस्याण्ड फिल्टर जडान गरिएको छ। झलझलियाको कालिका आधारभूत विद्यालय र सो क्षेत्रमा प्रयोग हुँदै आएका ट्युबवेलको पानीमा अत्याधिक आइरन, गन्हाउने समस्या तथा रातोपना देखिएपछि सोको समाधानका लागि फिल्टर जडान गरिएको हो।
विद्यालयका प्रधानाध्यापक उपेन्द्र बुढाका अनुसार विद्यालयको ट्युबवेलबाट आउने पानी ३० देखि ४० फिट गहिराइबाट आउने भएकोले पानीको गुणस्तर कमजोर हुँदा विद्यार्थी तथा शिक्षकहरूलाई पिउने पानिमा समस्या भइरहेको थियो। सो पानीमा आइरनको मात्रा बढी हुँदा स्वाद बिग्रिनुका साथै भाँडा र कपडामा रातो दाग लाग्ने लगायतका समस्या समेत देखिएको थियो।

वातावरण तथा जनस्वास्थ्य संस्था (ENPHO) का परामर्शदाता हरि बहादुर बुढाथोकीका अनुसार वायोस्याण्ड फिल्टरले पानीमा रहेका जीवाणु, आर्सेनिक, आइरन, धमिलोपन तथा दुर्गन्ध हटाउन प्रभावकारी भूमिका खेल्ने गर्दछ। बायोस्यान्ड फिल्टले २४ लिटर प्रतिघण्टा स्वच्छ पानी फिल्टर गर्ने र विद्यालय तथा स्थानीय समुदायलाई प्रत्यक्ष लाभ पुग्ने अपेक्षा गरिएको छ।
नेपाल रेडक्रस सोसाइटीद्वारा सञ्चालित प्रकृतिमा आधारित समाधान (NbS) परियोजनाको सहयोग तथा वडा कार्यालय र विद्यालय व्यवस्थापन समितिको समन्वयमा फिल्टर जडान गरिएको हो। विद्यालयले समेत परियोजनामा आवश्यक आर्थिक सहयोग गरेको जनाएको छ।

कालिका आधारभूत विद्यालय बाढी तथा अन्य विपद्का बेला झलझलिया क्षेत्रका समुदायका लागि सुरक्षित आश्रय स्थलका रूपमा प्रयोग हुँदै आएको छ । यस कारण विद्यालयमा स्वच्छ पिउने पानिको व्यवस्था हुनु विद्यार्थी मात्र नभई विपद्को समयमा आश्रय लिने समुदायका लागि समेत महत्वपूर्ण मानिएको छ।
फिल्टरको दीर्घकालीन प्रभावकारिताका लागि विद्यालय व्यवस्थापन समिति, शिक्षक, कर्मचारी तथा विद्यार्थीहरूलाई यसको सही प्रयोग, मर्मत–सम्भार र सरसफाइ सम्बन्धी अभिमुखीकरण समेत प्रदान गरिएको छ। सम्बन्धित पक्षहरूले नियमित अनुगमन र संरक्षणमा ध्यान दिनुपर्ने आवश्यकता औँल्याएका छन्।

स्वच्छ पानी, स्वस्थ जिन्दगानी र सुरक्षित भविष्यका लागि वायोस्याण्ड फिल्टर महत्वपूर्ण माध्यम बनेको स्थानीयवासीले बताएका छन्।