सिफारिस

भगवानपुरमा करेला खेतीसम्बन्धी एकीकृत शत्रु जीव व्यवस्थापन (IPM) कृषक पाठशाला सम्पन्न

कालुरामचौधरी
सुखड,२१ जेठ । गौरीगंगा नगरपालिका–९ भगवानपुरमा सञ्चालन गरिएको एकीकृत शत्रु जीव व्यवस्थापन (IPM) कृषक पाठशाला सम्पन्न भएको छ। करेला बालीको उत्पादन वृद्धि, सुरक्षित खेती प्रवर्द्धन तथा रासायनिक विषादीको प्रयोग न्यूनीकरण गर्ने उद्देश्यले आयोजित तालिमको समापन समारोह सम्पन्न भएको हो।

कार्यक्रमको सभापतित्व सरस्वती चौधरीले गर्नुभएको थियो भने गौरीगंगा नगरपालिकाका नगर प्रमुख देविदत्त कडेल प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। त्यसैगरी वडा नं. ९ का वडा अध्यक्ष राज कुमार थारु विशेष अतिथिका रूपमा उपस्थित रहनुभएको थियो। कार्यक्रममा स्थानीय जनप्रतिनिधि, कृषक तथा सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
तालिममा कृषकहरूलाई बालीमा लाग्ने रोग तथा किराको पहिचान, व्यवस्थापन, मित्रजीव संरक्षण, खेतबारीको नियमित अवलोकन तथा वातावरणमैत्री कृषि प्रणालीका बारेमा जानकारी प्रदान गरिएको थियो। साथै जीवामृत, बीजामृत, नीमास्त्र, ब्रह्मास्त्र तथा अग्निअस्त्र जस्ता घरेलु तथा प्राकृतिक जैविक विषादी बनाउने र प्रयोग गर्ने विधिबारे समेत व्यावहारिक प्रशिक्षण दिइएको थियो।

कार्यक्रममा IPM का सिद्धान्तहरू अन्तर्गत स्वस्थ बाली उत्पादन, शत्रुजीव व्यवस्थापन, कृषकलाई दक्ष बनाउने तथा दिगो कृषि प्रणाली विकास गर्ने विषयमा विशेष जोड दिइएको थियो। सहभागी कृषकहरूले यस्ता प्रविधि अपनाउँदा उत्पादन लागत घट्ने, वातावरण संरक्षणमा टेवा पुग्ने तथा सुरक्षित कृषि उत्पादनमा सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्।
समापन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि नगर प्रमुख देविदत्त कडेलले विषादीको सुरक्षित प्रयोग तथा जैविक विधिको प्रवर्द्धनमार्फत स्वस्थ कृषि उत्पादनमा जोड दिनुपर्ने बताउनुभयो। उहाँले कृषकहरूलाई आधुनिक तथा वातावरणमैत्री कृषि प्रविधि अपनाउन आग्रह गर्नुभयो।

कार्यक्रमका सभापति सरस्वती चौधरीले तालिमबाट प्राप्त ज्ञान र सीपलाई व्यवहारमा उतार्न कृषकहरूलाई अनुरोध गर्दै यस्ता कार्यक्रमले कृषकहरूको क्षमता विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने बताउनुभयो।
आयोजकका अनुसार यस्ता तालिमहरूले कृषकहरूलाई दिगो तथा वातावरणमैत्री कृषि प्रणालीतर्फ उन्मुख गराउँदै कृषि उत्पादन र उत्पादकत्व वृद्धि गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार
छुटाउनुभयो कि ?