
सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अगाडि ‘लास’ आन्दोलन गरिएको छ । बोलन्या थली नामक संस्थाको आयोजनामा दैजी–लिप्ना–जोगबुढा सडकखण्ड निर्माणमा भएको ढिलाइप्रति ध्यानाकर्षण गराउन यस्तो विरोध प्रदर्शन गरिएको हो ।
संस्थाका संयोजक यादव जोशीका अनुसार करिब १० वर्षदेखि अलपत्र रहेको उक्त सडक निर्माण कार्य तत्काल अघि बढाउन दबाब दिन आन्दोलन गरिएको हो । उनका अनुसार ठेक्का पाएको नार्गाजुन कन्स्ट्रक्सनले काममा निरन्तर ढिलाइ गर्दै आएको छ ।
कञ्चनपुरको दैजीदेखि डडेल्धुराको सिमाना लिप्नासम्मको करिब १२ किलोमिटर सडक निर्माणका लागि २०७४ वैशाख ८ गते २१ करोड २६ लाख ५३ हजार रुपैयाँमा ठेक्का सम्झौता गरिएको थियो । २०७६ साउन ५ भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिए पनि हालसम्म काम पूरा भएको छैन ।
पाँच पटकसम्म म्याद थप्दा पनि निर्माण सम्पन्न नभएको र पछिल्लो थपिएको म्याद समेत गत असारमै सकिएको अवस्थामा आन्दोलनकारीले तत्काल काम सुरु गरी सम्पन्न गर्न माग गरेका छन् ।