
कैलाली — किसान बहुउदेश्यीय सहकारी संस्था लि.को लघुवित्त कार्यक्रम अन्तर्गत सुखड शाखाले श्रद्धाञ्जली तथा सुविधा वितरण कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रम इलाका प्रमुख गोरख बहादुर शाहको अध्यक्षतामा तथा घोडाघोडी नगरपालिका–३ की वडा सदस्य राधा परियारको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। कार्यक्रममा निम्दी टोलका भलमान्सा दाशीराम चौधरी विशिष्ट अतिथिको रूपमा उपस्थित रहेका थिए।
उक्त कार्यक्रममा सहकारी संस्थामा बचत तथा कर्जा कारोबार गर्दै आएकी घोडाघोडी नगरपालिका–३ निवासी केन्द्र नम्बर २०२४ की शेयर सदस्य स्वर्गीय हिना डाँगौरको निधनप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनका श्रीमान प्रेम डाँगौरलाई सदस्य सुरक्षण कार्यक्रम अन्तर्गत रु २ लाख ७७ हजार रुपैयाँ बराबरको सुविधा रकम हस्तान्तरण गरिएको थियो। उक्त रकम प्रमुख अतिथि तथा सभा अध्यक्षको हातबाट प्रदान गरिएको थियो।
कार्यक्रमको सञ्चालन संस्थाका सुखड शाखा प्रमुख जनकराज ढुङ्गानाले गर्नुभएको थियो। कार्यक्रममा बोल्दै शाखा प्रमुख ढुङ्गानाले स्थापना कालदेखि हालसम्म सदस्य सुरक्षण कार्यक्रम अन्तर्गत करिब ३ सय सदस्यलाई सुविधा प्रदान गरिसकेको जानकारी दिनुभयो।
सहकारीले यस्ता कार्यक्रममार्फत सदस्यहरूलाई आर्थिक सुरक्षा प्रदान गर्दै सामाजिक उत्तरदायित्व निर्वाह गर्दै आएको जनाएको छ।