सिफारिस

जलाधार संरक्षणका लागि कैलालीमा नागरिक अन्तर संवाद कार्यक्रम सम्पन्न,

कैलालीमा भू–जलाधार संरक्षणका लागि सरोकारवालाहरूले सामूहिक प्रतिबद्धता जनाएका छन् । घोडाघोडी नगरपालिका–१ सुखडमा आयोजित ‘जलाधार संरक्षण नागरिक अन्तरसंवाद’ कार्यक्रममा सहभागी स्थानीय, जनप्रतिनिधि तथा विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूले जलाधार संरक्षणलाई आजको प्रमुख चुनौतीका रूपमा औँल्याएका छन् ।

कन्द्रा–कटैनी उपजलाधार नागरिक सञ्जालको आयोजनामा सम्पन्न कार्यक्रममा प्रतिनिधि सभा सदस्य, प्रदेश सांसद तथा स्थानीय तहका प्रमुख–उपप्रमुखहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा जलाधारका प्रमुख सवाल, समस्या, चुनौती र सम्भावनाबारे विस्तृत छलफल गरिएको थियो ।

कार्यक्रममा सञ्जालका संयोजक हरिप्रसाद तिवारीले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने भू–तथा जलाधार व्यवस्थापन कार्यालय कैलालीका प्रमुख डा. किशोर अर्यालले ‘कन्द्रा र कटैनी जलाधार व्यवस्थापनस् हाम्रो नदी, हाम्रो जीवन’ विषयमा प्रस्तुति दिएका थिए। त्यसैगरी लीलाधर न्यौपानेले जलाधार संरक्षण, नागरिक सहअस्तित्व, आयआर्जन तथा रैथाने प्रजातिको संरक्षणका विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

खुला छलफलमा पत्रकार, कर्मचारी, प्राध्यापक तथा स्थानीय जनप्रतिनिधिहरूले चुरे क्षेत्रबाट सुरु भएर तल्लो तटीय क्षेत्रमा परेको प्रभावप्रति चिन्ता व्यक्त गर्दै नीतिगत समस्याको समाधान आवश्यक रहेको बताएका थिए ।

प्रतिनिधि सभा सदस्य जगत जोशीले नदीलाई समस्या मात्र नभई सम्भावनाका रूपमा लिनुपर्ने उल्लेख गर्दै प्रकृति र मानवबीचको द्वन्द्व समाधानका लागि संरक्षणमा जोड दिनुपर्ने बताए । उनले नागरिकको जनजीविकासँग जोडिएका कानुन समयमै निर्माण नहुँदा समस्या देखिएको उल्लेख गर्दै तीनै तहका सरकारले समन्वय गर्नुपर्नेमा जोड दिए ।

त्यसैगरी, रेडक्रसका प्रतिनिधि र वन क्षेत्रका अधिकारीहरूले चुरे संरक्षणमा जोड दिँदै प्रकृतिको अत्यधिक दोहनले समस्या बढाएको बताएका थिए। नदीजन्य पदार्थ उत्खननसम्बन्धी कानुन प्रभावकारी रूपमा कार्यान्वयन हुन नसकेको उनीहरूको भनाइ थियो ।

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव दीर्घ नारायण कोइरालाले प्रस्तुत कार्यपत्र कार्यान्वयनमा लैजान प्रतिबद्धता जनाउँदै प्राकृतिक स्रोत संरक्षण नै आयआर्जन र जीवनसँग प्रत्यक्ष जोडिएको बताए। उनले वन अतिक्रमण, आगलागी, काठ तस्करी, खुला चरिचरण, मानव–वन्यजन्तु द्वन्द्व तथा जलवायु परिवर्तनजस्ता समस्या समाधानका लागि नीतिगत सुधार आवश्यक रहेको औँल्याए ।

जिल्ला समन्वय समिति कैलालीकी प्रमुख टीका कुमारी चौधरीले तीनै तहका सरकारबीच सहकार्य अपरिहार्य रहेको बताइन्। प्रदेश सभा सदस्यहरू जानकी देवी कुवर र खुसीराम चौधरीले पनि सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा सहभागीहरूले सरकारी तथा गैरसरकारी निकायबीच समन्वय गर्दै समस्याको दीर्घकालीन समाधान खोज्नुपर्ने निष्कर्ष निकालेका छन्। जलाधार संरक्षणका लागि तीनै तहका सरकारको सामूहिक प्रयास अपरिहार्य रहेको उनीहरूको जोड थियो ।

कार्यक्रमको अध्यक्षता कन्द्रा उपजलाधार नागरिक सञ्जालका संयोजक लक्ष्मण चौधरीले गरेका थिए भने प्रकाश मिश्रले सहजीकरण गरेका थिए। कार्यक्रम सहमति र डब्लु.डब्लु.एफ,आइ.एफ.आर.सी, नेपाल रेडक्रस सोसाइटी लगायतका संस्थाहरूको सहकार्यमा सम्पन्न भएको हो

प्रतिक्रिया

सम्बन्धित समाचार