
सुखड,१६ भादौं २०८३ , कैलालीको घोडाघोडी नगरपालिकामा केही समयदेखि रोकिएको जग्गा नापजाँच कार्यक्रम पुनः सञ्चालनमा आएको छ। नगरपालिकाको वडा नम्बर ७ स्थित किर्तिपुरबाट जग्गा नापजाँचको काम पुनः सुरु गरिएको हो।
रोकिएको नापजाँच कार्यक्रम पुनः सुरु भएसँगै स्थानीय बासिन्दामा आफ्नो जग्गाको नापजाँच तथा जग्गासम्बन्धी समस्या समाधान हुने अपेक्षा बढेको छ। किर्तिपुरमा नापजाँचको काम सुरु गरिँदा स्थानीय जनप्रतिनिधि, सम्बन्धित प्राविधिक तथा स्थानीय बासिन्दाको उपस्थिति रहेको थियो।
जग्गा नापजाँचका क्रममा प्राविधिक टोलीले आधुनिक सर्वेक्षण उपकरण प्रयोग गरी जग्गाको वास्तविक अवस्था तथा सीमाना मापन गर्ने जनाएको छ। लामो समयदेखि रोकिएको कार्यक्रम पुनः सुरु भएपछि स्थानीयले आवश्यक समन्वय गरी नापजाँच कार्यलाई प्रभावकारी र व्यवस्थित रूपमा अघि बढाउन आग्रह गरेका छन्।
घोडाघोडीका अन्य वडामा पनि आवश्यक प्रक्रिया पूरा गर्दै क्रमशः जग्गा नापजाँचको काम अघि बढाइने बताइएको छ।