
१३ भदौ, सुखड । कैलालीको घोडाघोडी नगरपालिका–१, सुखडमा जापानिज इन्सेफ्लाइटिस (जेई) विरुद्धको खोप अभियान सफल बनाउन सरोकारवाला बिच छलफल गरिएको छ । असोज १ गतेदेखि ७ गतेसम्म सञ्चालन हुने जेईविरुद्धको खोप अभियानलाई प्रभावकारी र सफल बनाउन आवश्यक तयारी तथा जनचेतना अभिवृद्धिका विषयमा छलफल गरिएको हो ।
घोडाघोडी नगरपालिका–१ मा रहेको सुखड आधारभूत स्वास्थ्य सेवा केन्द्रको आयोजनामा भएको कार्यक्रममा वडाभरिका महिला स्वास्थ्य स्वयंसेविका, शिक्षक–शिक्षिका, भलमन्सा, चिराकी, जनप्रतिनिधि, स्थानीय सरोकारवाला तथा सम्बन्धित पक्षहरूको सहभागिता रहेको थियो ।
छलफलका क्रममा खोप अभियानलाई लक्षित समुदायसम्म प्रभावकारी रूपमा पु¥याउने, लक्षित समूहका कुनै पनि व्यक्ति खोपबाट छुट्न नदिने, समुदायमा जेईविरुद्धको खोपसम्बन्धी सही सूचना प्रवाह गर्ने तथा अभियानमा सबै पक्षको सहकार्य र समन्वयलाई प्रभावकारी बनाउने विषयमा जोड दिइएको थियो ।
स्वास्थ्यकर्मीहरूले जेई सङ्क्रमणबाट सुरक्षित रहन खोप महत्त्वपूर्ण भएकाले लक्षित उमेर समूहका सबै नागरिकलाई अभियानमा सहभागी गराउन आवश्यक रहेको बताएका थिए । अभियान सफल बनाउन स्थानीय जनप्रतिनिधि, स्वास्थ्य संस्था, महिला स्वास्थ्य स्वयंसेविका,प्रहरी,विद्यालय तथा समुदायका अगुवाहरूको भूमिका महत्त्वपूर्ण हुनेमा समेत जोड दिइएको थियो ।
जेई सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै लक्षित उमेर समूहका नागरिकलाई खोप अभियानमा सहभागी गराई सङ्क्रमणबाट सुरक्षित बनाउने उद्देश्यले अभियान सञ्चालन गर्न लागिएको सुखड आधारभूत स्वास्थ्य सेवा केन्द्रकी प्रमुख विद्या शाहीले जानकारी दिइन् ।
उनले ३० वर्ष उमेर पूरा भएका र सोभन्दा माथिका सबै नागरिकलाई नजिकको खोप केन्द्रमा गई अनिवार्य रूपमा जेईविरुद्धको खोप लगाउन आग्रह गरिन् । साथै, अभियानबारे समुदायमा आवश्यक सूचना पु¥याउन तथा लक्षित व्यक्तिलाई टोल,विद्यालय तथा खोप केन्द्र सम्म ल्याउन सबै सरोकारवालाको सहयोग आवश्यक रहेको बताइन् ।