
कैलाली । भजनी नगरपालिका–४ बिजुलियामा कन्द्र नदीले व्यापक रूपमा खेतीयोग्य जमिन तथा सडक कटान गरेपछि आसपासका बस्तीसमेत जोखिममा परेका छन्।
नदी कटानबाट प्रभावित क्षेत्रको अवस्था बुझ्न भजनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोजराज भट्ट, इन्जिनियर, वडा नं. ४ का अध्यक्ष जन्ताराम चौधरी तथा कैलाली जिल्ला नेपाल रेडक्रस सोसाइटीको टोलीले स्थलगत अनुगमन

गरेको छ।
अनुगमनका क्रममा कन्द्र नदीले गरेको जमिन तथा सडक कटानको अवस्थाका साथै नदी आसपास रहेका बस्तीमा पर्न सक्ने सम्भावित जोखिमबारे समेत जानकारी लिइएको थियो। नदी कटान बढ्दै गएमा स्थानीयको खेतीयोग्य जमिन, सडक तथा बस्तीमा थप असर पर्न सक्ने अवस्था देखिएको छ।
यसैगरी, भजनी नगरपालिका–४ र ९ जोड्ने कन्द्र नदीमाथिको पुलसमेत नदी कटानका कारण जोखिममा परेको जनाइएको छ। अनुगमन टोलीले पुल तथा आसपासको अवस्थाको अवलोकन गर्दै सम्भावित जोखिम न्यूनीकरणका लागि आवश्यक पहल गर्नुपर्नेमा जोड दिएको छ।
नदी कटान नियन्त्रण तथा स्थानीय बस्ती, सडक र पुलको सुरक्षाका लागि सम्बन्धित निकायबाट समयमै आवश्यक व्यवस्थापन र संरक्षणका काम अघि बढाउनुपर्ने स्थानीयको माग छ।
