
भजनी, २८ भदौ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भजनी नगर समितिले सञ्चालन गरेको ‘रक्तदाता पहिचान तथा व्यवस्थापन अभियान’ अन्तर्गत आइतबार भजनी नगरपालिका वडा नम्बर ५ मा थप २० जनाले रक्तदान गर्ने बाचा गरेका छन् । रास्वपा कैलाली जिल्ला समितिको सर्कुलर अनुसार भजनीका सबै ९ वटै वडामा यो अभियान सञ्चालन भइरहेको छ ।
नगर समितिले दिएको जिम्मेवारीअनुसार रक्तदाता बाचा पत्रमार्फत स्वयंसेवी रक्तदाताहरूको पहिचान र विवरण सङ्कलन कार्यलाई निरन्तरता दिइएको अभियान संयोजक यज्ञराज जैसीले जानकारी दिनुभयो । भजनी नगरपालिका वडा नम्बर ७ बाट शुभारम्भ भएको यस मानवीय अभियानमार्फत हालसम्म ४ वटा वडाबाट मात्रै करिब ६० जना सम्भावित रक्तदाताहरूको पहिचान भइसकेको संयोजक जैसीले बताउनुभयो ।
“आज पराईका लागि, भोलि आफ्नैका लागि” भन्ने पवित्र भावनाका साथ सुरु गरिएको यस अभियानले भजनी क्षेत्रमा आवश्यक परेको बेला हुने रगतको अभावलाई टार्न ठुलो सहयोग पुग्ने विश्वास लिइएको छ । रास्वपा भजनी नगर समितिले संकटको घडीमा अमूल्य रगत दान गरी मानवीय सेवामा जोडिन बाचा गर्नुहुने सम्पूर्ण २० जना महानुभावहरू प्रति हार्दिक आभार प्रकट गर्दै धन्यवाद ज्ञापन गरेको छ । यो अभियान भजनीका बाँकी वडाहरूमा पनि क्रमिक रूपमा सञ्चालन गरिने समितिले जनाएको छ ।